Tuesday, July 19, 2011

बिन्ती छ उसलाई जन्माइदेउ

अझै म हतियारमा रगत देख्न सक्दिन
जनसागरमा छाएको निराशा सुन्न सक्दिन
समय समयमा बदलिरहने भेष हेर्न सक्दिन
पुरानै बाटोमा अझै हिड्न पनि सक्दिन
बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ

भत्किएका खरका छानाहरु अझै बन्न सकेका छैनन
खोसिएका गाँसहरु अझै फिर्ता भएका छैनन
से फोक्सुण्डो तालहरुमा अझै पाइलाहरु पुग्न सकेका छैनन्
क्षितिजपारि भासिएका गोडाहरुको अझै फर्किने आधारहरु छैनन्
त्यसैले, बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ

जातिय मखुन्डोरुपि झण्डाहरुको सङ्ख्या बढ्दैछ
मौका छोपि रातारात सिमास्तम्भहरु ढल्दैछ
संसारै चकित छ,मैनबत्ति र टुकीहरु रातमा जल्दैछ
अझै कयौ उर्वर खेतहरुमा काठे हलो,कोदालो चल्दैछ
त्यसैले,बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ


भोली यहि आकाशमा “डाँफे”यानहरु उडाउनुछ
सके चुम्बकिय रेलहरु पुर्व पश्चिम गुडाउनुछ
हिमाल,पहाड र तराइलाई एउटै डोरीले बेर्नुछ
आजको आमाको दुखित रुपलाई एकाएक फेर्नुछ
त्यसैले ,बिन्ती छ उसलाई तीन महिनाभित्र जन्माइदेउ